पोखरामा मरीच खेतिको सम्भावना खोज्दै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म संचालक बाबु छोरा सूर्यमोहन बास्तोला र जीवन बास्तोला”- अहिले कृषि क्षेत्रमा देशमा नयाँ प्रयोगको थालनी हुन सुरु गरेको छ। यस्तै गण्डकी प्रदेशले प्रादेशिक रुपमा पर्यटकीय विकासका माध्यमबाट समृद्धिको थालनी गर्ने सरकारी घोषणा भन्दा पहिले नै गण्डकीका किसानहरुले कृषि पर्यटनका माध्यमबाट समृद्धिको यात्रा सूरुगर्दै पर्यटकीय बजारका लागि चाहिने मसालाबालीको खेति गर्ने प्रायोगिक अनुसन्धान गर्दै आएका छन् । पर्यटन बजारमा खपत हुने मशाला बालीको स्थानीय उत्पादनको सम्भावनाको खोजी गर्ने किसानहरुले थालनी गरेका कृषि अनुसन्धान प्रयासहरु हाल नमुना कृषि फार्मका रुपमा बिकास हुन थालेका छन् । पोखराको बेगनास ताल परिधी क्षेत्रमा स्थानीय सूर्यमोहन बास्तोलाले सूरु गरेको मरीच फार्म नै गण्डकीको पहिलो मरीच फार्म हुन पुगेको छ।
करिव ३० बर्ष अगाडी दार्जिलिङबाट २ बोट मरीचका बेर्ना ल्याएर मरीच खेती खेतिको सुरुवात गरेका सुर्य मोहन बास्तोलाको कृषि फार्ममा हाल साना ठुला गरेर झण्डै १५० मरीचका बोट रहेका छन । पर्माकल्चर कृषि प्रणाली बिज्ञ समेत रहेका किसान सुर्य मोहन बास्तोलाले पर्माकल्चर कृषि अभ्यासकै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म सञ्चालन गर्दै प्रत्येक बर्ष झन्डै १५० देखि २०० किलो सम्म सुकेको मरीच उत्पादन गर्दै आएका छन् ।
बास्तोलाको अमृत कुन्ज अर्गानिक पर्माकल्चर फार्मको अनुभवका आधारमा खस्रो बोक्राहुने रुखहरु जस्तै आँप, कलकी, फलेदो , साल, बकाइनो, कटहर आदि रुखहरु मरीच खेती को लागि उपयुक्त हुने बास्तोलाको अनुभव छ । बिरुवा रोपेको तीन—चार बर्ष देखि फल दिन सुरु गर्ने मरिचले लगातार पच्चीस , तीस बर्षसम्म उत्पादन दिएका बोटहरु उनको फार्ममा देख्न सकिन्छ । बर्सेनि बैशाख देखि श्रावणसम्म फुल्ने र चैत्रमा पाक्ने मरीच अहिले अमृत कुन्ज फार्मको मुख्य आकर्षण बनेको छ ।
पोखराको मशाला उपभोक्ता बजारमा अर्गानिक मरीच सजिलै किलो को रु १५०० सम्म बिक्रीवितरण भैरहेको बास्तोलाले बताएका छन् । बर्सेनि करोडौं रुपैयाँको मरीच भारतबाट नेपालमा आयत भैरहेको यो अबस्थामा सरकारले किसानलाई विशेष सहुलियत ऋण उपलब्ध गराउने र मरीचखेतीका लागि पकेट क्षेत्रका रुपमा सरकारी नीजी सहकार्य हुन सकेमा मरीच आपुर्तिको व्यापार घाटा न्युनकिरण गर्न र स्थानीय बाादर पीडीत किसानहरुमा मशालाबाली प्रबद्र्धन गर्न उपयोगी हुने अमृत कुञ्ज पर्माकल्चर फार्मका व्यवस्थापक जीवन बास्तोलाले बतायका छन ।
हाल अमृत कुञ्जमा विदेशका कृषि अध्ययनमा रुची रहेका युवाहरु कृषि स्वयंसेवकका रुपमा आउने गरेको पनि बास्तोलाले जनाएका छन् । कृषि पर्यटनमा आधारित घरबास पर्यटनको अभ्यासको थालनी २० वर्ष पहिले भएको जनाइएको छ । इजरायलबाट नेपालको कृषी क्षेत्रमा अध्ययन गर्न आएका २ जना स्वयंसेवकलाई अमृत कुन्जमा स्वागत गरेर सुरु भएको ‘फार्मस्टे’मा हालसम्म बिश्वभरीका ३५ भन्दा बढी देशका बिदेशी पाहुनाहरु विभिन्न किसिमका तालिम, कृषि अध्ययन, अनुसन्धान र जानकारी मुलक भ्रमणका लागि आउने गरेको बास्तोलाले जनाएका छन् ।
सुरुसुरुका दिनमा बिदेशी पाहुनाहरु फार्ममा आयर काम गरेको देख्दा गाउलेहरु अचम्म मान्थे । मल बोक्ने, गोड्मेल गर्ने, खाना बनाउने, बिरुवा लगाउने, घाँस काट्ने, दहि मोथ्ने, कम्पोस्ट मल बनाउने, लागायत कृषी कर्ममा बिदेशी रमाइरहेको र आफुले गरेको सत कर्मको प्रचार प्रसार बिश्व भरी फैलिएको बास्तोलाले बताए ।
बिश्वका विभिन्न स्थानका मानिसहरु अमृत कुञ्जमा अभ्यास गरिएको अर्गानिक पर्माकल्चर खेती प्रणालिबाट जलवायु परिवर्तनका प्रभाव न्युनिकरणका लागि सहयोगी हुने बताउने गरेको पनि बास्तोलाले बताए । नेपाली लोक जिवन र कृषि अध्ययनमा रुची राख्ने बिदेशी पाहुनाहरु माटो, बोट र संस्कृतिमा रमाउने गरेको ,बिहान ध्यान र योगमा मस्त रहने तथा बेलुका लोक भजनमा रमाउने गरेको जनाएका छन् । बास्तोलाको अनुभवबाट पाठ सिकेर कतिपय स्थानहरुमा होमस्टे , फार्मस्टे संचालन गर्ने नयाँ पुस्ता थपिदै गएको पनि बास्तोलाले जनाएका छन् ।
नेपाली परम्परामा पाइने ऋषि कृषि प्रणाली अनुसारको परम्परागत प्राङ्गारिक उन्मुख पर्माकल्चर खेती प्रणाली लाई सन १९७० को दशकमा अस्ट्रेलियाका बिल मोलिसन र डेभीड होम्ग्रेनले तयार पारेका थिए । दीगो कृषिका लागि प्रकृति मैत्री खेति प्रणालीलाई पर्माकल्चरका कृषि मानिन्छ । यहि मान्यताको कृषि प्रणलीबारे ज्ञान हासील गरेका बास्तोलाले वि.सं.२०५१ साल तिर पर्माकल्चर र प्राङ्गारीक कृषिमा काम गर्ने बिभिन्न सस्थाहरुबाट पर्माकल्चर डीजाइन कोर्स संग सम्बन्धित धेरै चरणका तालिमहरु लिएको पनि जनाएका छन् ।
पोखरा महानगरको वार्ड न २८ माझठानागाउँको बेसी स्याङ्गखुदी क्षेत्र( बेगनासताल को उत्तरी पाखो ) मा झन्डै ३० रोपनीमा क्षेत्रफलमा विस्तारित अमृत कुन्ज अर्गानिक फार्ममा सुन्तला , कफी , कागती, केरा लगायतका रैथाने फलफूल सँगै हाल एभोकाडो, ड्रागन फ्रुट, किवि , आरु, मेवा, आँप, रुख कटहर, भुइकटहर, अम्बा, चिउरी, स्ट्रबेरी , गोल्डेन बेरी, जामुन , अङ्गुर , नासपती, हलुवाबेद, लीची लगायतका ६० भन्दा बढी प्रजातीका फलफुलहरु छन । यसै गरि चौटाजोर, शीखारीलहरा, गाइखुरे , बेल , हररो, बररो , अमला , चिनी पात, आकसेबेली , कालो हलेदो, कुकुर डाइनो, ओल(सर्प को मकै) , गुदर गानो, भुइचम्पा, अजम्बरी, तेजपत्ता लगायतका झन्डै १५० प्रकारका जडीबुटी सहित ४०० भन्दा बढी प्रजातीका बनस्पतिहरु रहेको अमृत कुन्ज फार्मको मुख्य आय आम्दानीको स्रोत मरीच रहेको बास्तोलाले जनाएका छन् । सरकारी सहकार्य हुनसकेमा बेरोजगार युवाहरूलाई कृषि र पर्यटनमा स्वरोजगार गर्न सकिने बास्तोलाको सिकाइ छ ।
तस्वीर तथा जानकारी – जीवन बास्तोला/ कास्की
थप जानकारी को लागि
सुर्य मोहन बास्तोला/ जीवन बास्तोला
अमृत कुन्ज अर्गानिक पर्माकल्चर फार्म
ठेगाना : पोखरा महानगरपालीका-२८, माझठाना, कास्की जिल्ला , गण्डकी प्रदेश
सम्पर्क: 9846323544,9825113728
email: amritkunjafarm@gmail.com